NEPALI KALAKAR

मलाई रुवाउने मान्छे – हेमन्त कान्छा रसाइली ( माया मार्यौ रे )

एक त मरुभूमिको निर्दयी घाम अनि त्यो दिनको उखर्माउलो गर्मी । घाँटी सुक्यो, थोरै पानी पिउन मन लाग्यो । पानी तातेर पिउनै नहुने भारैछ । मुखमा हालेको पानी पनि ननिली थुकिदिए । साथीले खाना खाने ब्रेक भएको जानकारी दियो । टाउकोको हेल्मेट झिके, हातको पन्जा फुकालेर चोर औंलालाई बङ्गाएर निधारको पसिना पुछे । भोक बेसरी लाको छ तर गर्मीले बसाएको दाल र कक्रक्क परेको खबुस (रोटी ) देख्ने बित्तिकै खाने जाँगर कता भाग्यो कता । बालुवा माथि थचक्क बसेर लामो सुस्केरा हाल्दै दुई टुक्रा रोटी दालमा चोबेर मुखमा लैजानै लागेको थिए साथीले मोबाइलमा गीत बजायो :-

पातको चुङ्गी खेलिन्थ्यो बारीमा
ठेस लागेर सिस्नोको घारीमा !
आज ती बालापन कहाँ गए
ठुलो भासी के बन्छस् भन्थ्यौ आमा
गायक बन्छु भन्थे परदेशी पो भए !!!

यो गीत बजाउदै गीतको तालमा टाउको हल्लाउदै साथीले रोटी खादै थियो । मलाई भने खाउँ कि नखाउँ भयो । कस्ले लेख्यो होला यो गीत ? कस्ले गर्यो होला सङ्गीत ? अनि कस्को होला यो आवाज ? यस्तो लाग्थ्यो यो सर्जकले मलाई वर्षौ देखि पिछा गरेको छ अनि मेरो यथार्थ जीवनी गीत बनाएर गाएछ । कति मिल्दोजुल्दो छ मेरो जिन्दगीको कथा र यो गीत । सम्झिए मेरो गायक हुने अपूरो सपना अनि आज खाडीमा गर्नु परेको लेबर काम । दाल राखेको बट्टामा तप्प आँसु खस्दा पो थाहा भयो हिजोको कुराहरु सम्झिएर परेली रसाइसकेछन् । साथीले मुखमा लैजादै गरेको गास रोकेर भन्यो – “खाने बेलामा नि के के सोच्छस् यार ! चुपचाप खान” । भोक त लागेको छ नि तर न त खान लायक नै रह्यो त्यो खाना न त मन नै खानका लागि तयार भयो । आँखा वरिपरि मेरो बालापन घुम्न थाल्यो । स्कुलका कार्यक्रममा गीत गाएर सबैलाई रुवाइदिएको याद आयो । एक बजेको छुट्टिमा साथी भाइ जम्मा गरी टेवल ठटाएर गीत गाएको याद आयो । पार्वती म्याडमले आएर सबैलाई लस्करै उभाएर कान समाउन लगाएको पनि सम्झिए । सबैलाई घोप्टो परेर कुखुरा बन्न लगाउनु भयो तर मलाई सजाय स्वरुप यौटा गीत गाउन लगाउनु भयो । हो, त्यै दिन देखि मलाई लाग्थ्यो म गाउन सक्छु । हेमजा साहित्य प्रतिष्ठान बाट आयोजित लोकगीत कार्यक्रममा कहिल्यै असफल हुन परेन । गौरी शंकर क्याम्पसको प्राङ्गणमा बसेर गाएको दोहोरी नि सम्झिए । घरको कम्जोर आर्थिक अवस्था नै मेरो कम्जोरी बन्यो । अन्ततः आफ्नो गायक बन्ने सपना अधुरै छोडी खाडी आउन बाध्य भए ।

त्यै रात बेलुका रुम पुगेर युट्युबमा बालापन भन्ने गीत सर्च गरेर हेरेर । बल्ल थाहा भयो मलाई रुवाउने मान्छे त “हेमन्त कान्छा रसाइली” पो हुनु हुदो रैछ । वाह ! सर हजुरको यो सिर्जना मेरो जिन्दगीको सत्य र तितो कहानी हो । हजुरको यो अदृश्य शक्ति र यो यथार्थ अनि मौलिक गीतको म खुलेर प्रशंसा गर्न चाहन्छु । आज भोलि हजुरका धेरै गीत सुन्न पाएको छु । “काँचो सुन्तला”, “बालापन”, “भाग्यमानी”, “किन होला खै” अनि भर्खरै बजारमा आएको नयाँ गीत “माया मार्यौ रे” । आज औपचारिक रुपमा अहिले भर्खर डिजिटल बजारमा भित्रिएको निकै मर्मस्पर्शी गीत “माया मार्यौ रे” का बारेमा केही शब्दहरु लेख्न चाहन्छु ।

मेरो नजरमा “हेमन्त कान्छा रसाइली”
सरल ब्यक्तित्व, मिजासिलो मान्छे । थोरै बोल्ने, हसिलो मान्छे । जति मिठो गायकी उति नै मीठो बोलीचाली । मान्छे उस्तै अनुशासित । सर्जक, गायक अनि सारङ्गी बादक । आधुनिक जमानाका युवा तर पौराणिक, लोपोन्मुख मौलिक बाजा सारङ्गीका संरक्षक । मात्र उनी सारङ्गी बजाउदैनन् ताकि बनाउछन् पनि । संघर्षको उपज अहिलेको सफलता र लोकप्रियता ।

“काँचो सुन्तला”ले मौलिक लोक सङ्गीतमा जन्माएको नामलाई “बालापन”ले सुनको जलप लगाएर चम्काइदिएको छ ।

केही दिन अघि मात्रै सार्वजनिक गरिएको नयाँ गीत “माया मार्यौ रे ” पनि उस्तै मीठो र मौलिक छ । बाध्यताले बिछोडिएका दुई प्रेमिल जोडीको गुनासो पोखिएको छ । खै कस्ले बनायो यो माया, अनि किन छुटाउछ माया गर्ने ब्यक्तिहरुलाई नै । इस्वरको यो परिक्षा कसैले बुझ्न सक्दैन । ती साच्चै भाग्यमानी हुन् जस्को प्रेम सफल भएको छ ।

माया मार्यौ रे

माया मार्यौ रे
मेरो मुटुलाई घाइते पार्यौ रे !!

  • फुल हो जीवन फक्रिने ओइलिने
    मायामा ज्यान कोहि दिने कोहि लिने !
    जब भयौ सम्पर्क बिहिन
    यो दिन आउला सोचेकै थिइन !!
  • मनलाई सोधे हैन कि भनेर
    गयौ अरे पराइको बनेर !
    मनले खोज्छ त्यै तिम्रो साथ
    आँसु पनि खोसियो म बाट !!
  • मलाई धोका देकि छौ जसोरी
    धोका देर बाँचौली कसोरी !
    कति साह्रै मन तिम्रो निर्दय
    मेरो जस्तै हैन र हिर्दय !!
  • आखिरीमा माटो मै मिल्नु छ
    खरानी भै पानीमा *बिल्नु छ (बिलिन हुनु छ )
    माया कस्तो बुझनै सकिन
    छुट्ने साथ जोडिन्छ खै किन !!

शब्द / लय :  हेमन्त कान्छा रसाइली
आवाज : हेमन्त कान्छा रसाइली, कमला पोखरेल, प्रेमा राना र गरिमा बिरही ।

 

 

नेपाली मौलिक लोकदोहोरी गीत “माया मार्यौ रे ” वास्तबमै यथार्थ र समसामयिक छ । हाम्रो कला संस्कृतिको जगेर्ना गर्ने गीत हो यो । कमला पोखरेलको सुरिलो आवाजले गीतलाई अझ कर्णप्रिय  बनाएको छ । जति सुन्यो उति सुनु सुनु लाग्ने यो लोकभाका सम्पुर्ण नेपालीका मन मुटु सम्म पुगोस् । मेरो सहृदय शुभकामना !!!

 

5 thoughts on “मलाई रुवाउने मान्छे – हेमन्त कान्छा रसाइली ( माया मार्यौ रे )

  1. रमाईलो बालापनको यथार्थता सम्झाउने गीत ..प्रिय कुमार का ति गहकिला शब्दहरुले झन सुनमा सुगन्ध थपिदियो…

    1. साँच्चै मालई पनि मेरो बाला पन को याद आयो यो गीत ले र भाइ प्रिय कुमार को समालोचना साँच्चै मेरो पनि मन छोयो l भाइ प्रिय कुमार अझै धेरै यस्तै लेख हरू पढनै आशा राख्दैछु l

  2. हेमन्त कान्छा दाइको गीत सबै सुनेकी छु । म त ठूलो फ्यान हो अझ त्यो बालापन गीत त कति राम्रो हो कति राम्रो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap