NEPALI KALAKAR

मौलिक लोकदोहोरी गीत – हे बरै ! सार्वजनिक

हे बरै !
नेपाली बोलीचालीमा अति प्रयोग हुने शब्द हो, हे बरै !! गीत सङ्गीतमा चाहिँ यो शब्दको जन्म सारङ्गी सङ्गै भएको पो होकि भनेर अनुमान लगाउन सकिन्छ किन कि प्रायः गन्धर्व गीतको सुरुवात “हे बरै” बाट हुन्छ । उदाहरणका लागि स्वर्गीय लोकगायक झलकमान गन्धर्वको कालजयी लोकगीत “आमाले सोध्लिन् नि खोइ छोरा भन्लिन् ” बोलको लोकगीतमा पनि “हे बरै” बाट नै गीतको उठान भएको छ ।

 

सबैभन्दा पहिला त लोकसङ्गीतको भण्डारलाई भरिपूर्ण बनाउने यो लोकेली शब्द “हे बरै” लाई नमन छ । परापूर्व काल देखि अहिले सम्म नि यो शब्दको लोकप्रियता बिल्कुलै घटेको छैन । जसको उदाहरणका लागि केही समय अघि मात्र करोडौं दर्शक श्रोताको मन मुटुमा बस्न सफल लोकदोहोरी गीत “सालको पात” लाई नै लिन सकिन्छ । जुन गीतमा यो शब्द गासिनाले मिठास अझ बढेको छ । त्यसो त कैयौं गीत सङ्गीत छन् जहाँ यो शब्द जोडिन पुगेको छ ।

 

भूमिका नबाधी सिधै भन्नु पर्दा आज म केही दिन अघि मात्र डिजिटल बजारमा सार्वजनिक भएको लोकदोहोरी गीत “हे बरै” को बारेमा केही लेख्दैछु । बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर ३ बोहोरा गाउँका दिप्लभ खाती र वडा नम्बर ४ झिम्पाका राजेश विश्वकर्माको संयुक्त प्रस्तुतिमा यो गीत सार्वजनिक भएको हो ।

 

कुनै गीत यस्ता हुन्छन् झट्टपट्ट सबैको नजरमा पर्दैनन् तर कहिल्यै मर्दैनन्  । भ्युजकै हिसाबमा हेर्ने भने यो गीत पछाडि परेता पनि मौलिकता र नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हिसाबले हेर्ने हो भने म गर्वका साथ यो गीतको प्रशंसा गर्न चाहन्छु । गीतको शब्द समायोजन र विशुद्ध ठेट मौलिक लोकभाकाको मुल्यांकन गर्दा मेरो कलमले यो गीतको पक्षमा नलेख्ने हो भने सायद उदयमान नवसर्जक र यो गीतको असली साङ्गीतिक गुणस्तर प्रति अन्याय हुन सक्छ अनि हाम्रो कला संस्कृति, हाम्रो मौलिकता र नेपाली पहिचान लोप हुन पनि सक्छ । भावी पुस्ताका लागि आफ्नो कला संकृति हस्तान्तरण गर्न यस्तै गीतहरुले सहयोग पुर्याउनेछन् । त्यसैले यस्ता गीत सङ्गीतलाई म प्राथमिकता दिन मन पराउछु ।

 

अधेरी रात, लाल्टिनको उज्यालो । चिसो मौसम, न्यानो साथ । सर्लक्क ओछ्याइएका गुन्द्रीहरु, लस्करै मिलेर बसेका गाँउलेहरु । भाङ्ग्रा र कछाड अनि सिरमा भादगाउले टोपी, टोपिमा बिरताको प्रतिक एक जोडी खुकुरी । तातो बर्को, मुगाको माला, मडारी, बुलाकी अनि न्यानो पछ्यौरी । डालोभरी सेलरोटी । घनघन घन्किएका जोर मादल । दिनभरीको थकाइ मार्न सुरु हुने साङ्गितिक बसिबियालो । कैले रमाइला प्रसंग त कैले मन छुने दु:ख पिडाका गीत । गाउदा गाउदै छर्लङ्ग बितेको सिङ्गो रात । दोहोरीमै मिलेको मन, गीत बाटै गासिएको आत्मियता अनि प्रेममा बदलिएको मित्रता । यी हाम्रा मौलिक कला संस्कृतिका बहुमुल्य पक्ष हुन् । यो गीतमा प्रस्तुत गरिएको भिडियोमा कलात्मक पाराले ठ्याक्कै यही पक्षलाई समेटिएको छ ।

 

उ आफ्नी श्रीमती सँग पूजामा गएको हुन्छ । उनी आफ्नो श्रीमान सँग त्यही पूजामा निम्तो मान्न आएकी हुन्छिन् । जब अचानक भेट हुन्छ आँखा भरी उही पूरानो बिगत दोहोरिन्छ, अतितमा गरेको सच्चा माया अनि चाहेर नि एक हुन नसकेको बास्तबिकता । उनले अर्कैको सिन्दुर  भर्नु पर्ने बाध्यता अनि उसले नि अरु कसैको हात थाम्नु पर्ने तितो सत्य । उनका परेली रसाउन सुरु हुन्छन् उसको मुख अँध्यारो हुन्छ । केही बेर दुबै टोलाउछन् । सायद मन सम्हाल्न सक्दैनन् । केटी बिस्तारै पर्दा बाट बिलिन हुन्छे । केटा पनि केही बेर एक्लै बस्न मन पराउछ र अलि पर जान्छ । एकान्तमा केटी सुक्क सुक्क गर्दै रुदै गरेकी हुन्छे । उसलाई देख्न साथ दौडदै जोडले अङ्गालो हाल्छे र धितमरुन्जेल रुन्छे । उनीहरूलाई खोज्दै आएका उनका श्रीमान र उसकी श्रीमतीले परै बाट यो दृश्य हेरिरहेका हुन्छन् । अपूरो प्रेमले रुवाउछ, सायद । चैनले बाँच्न दिदैन, सायद । ए ! ईस्वर तैले मन र मायाको सृष्टि त गरिस् तर बिछोड हुनु पर्ने रित नबनाइदिएको भए सायद कोहि पनि “हे बरै” भनेर रुनु पर्ने थिएन, सायद ।

 

 

हे बरै !
सम्झेर म रुनी, बिर्सिएर काँ गयौ बैगुनी ।

  • मैले माया दिएकै थे भयौ पर पर !
    कहाँ गयौ भंगेरी नि शून्य भाछ वर !!
  • तिम्रै माया बुनेको थे दिलको वरिपरि !
    आज किन बनाइगयौ पिंजडाको चरी !!
  • बनको चरी बनमै गाउँछ कुहु कुहु भाका !
    सानू तिम्लाई सम्झियोकी रसाइहाल्छ आँखा !!
  • झर्छन् आँसु सकिएन परेलीले बार्न !
    कसो गरी सक्यौ सानु मेरो माया मार्न !!
  • यैछ चिनो तिम्रो फोटो नबोलाउदा बोल्छ !
    झर्छ आँसु रोकिदैन झन् झन् छाती पोल्छ !!
  • बरपिपलको चौतारीमा बसेकी छु कुरी !
    झन् झन् सानुको याद चल्दा हावा हुरी !!

शब्द : दिप्लब खाती
सङ्गीत : दिप्लब खाती
आवाज : दिप्लब खाती, राजेश बिस्वकर्मा र सुगम सेर्पा

 

उक्त गीतमा स्यानी श्रीयासी, बिमा अनुरागी र पदम नेपालले काेरस आवाजमा साथ दिएका छन् । निर्देशक राजेश के.सी. (मोहन)को उत्कृष्ट निर्देशन, सरोज अधिकारीको छायांकन र सुवास अम्गाइको सम्पादनमा तयार पारिएको यस भिडियोमा प्रकाश आले, एसिका क्षेत्री, चन्द्रमा पाण्डे, याम बिन्दास र युवराज भण्डारीको अभिनय रहेको छ । “हे बरै” गीतका सम्पूर्ण टिमलाई बधाई छ । यस गीतको अपार सफलताको शुभकामना व्यक्त गर्दछु ।

 

7 thoughts on “मौलिक लोकदोहोरी गीत – हे बरै ! सार्वजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap