NEPALI KALAKAR

चर्चित मोडल अन्जली अधिकारी र बिमल रङ्गेहात झ्यालैमा . . .

रहर, सपना र लक्ष्य एकातिर तर मानिसलाई बाध्यताले पुर्याइदिन्छ अन्तै तिर । आफ्नै माटोमा सङ्गीतका फूलहरु रोपेर साङ्गीतिक फूलवारी ढकमक्क बनाउने सपना देखेका दूर्गा बि.सि. अन्ततः बाध्य भएर पलायन हुनै पर्यो । तन जहाँ पुगे पनि यदि मन राष्ट्र प्रेमले ओतप्रोत छ भने उसले आफ्नो कला संस्कृति र मौलिकता कहिल्यै बिर्सदैन । परदेशी भूमिमै रहेर पनि दूर्गा बि. सि. ले नेपाली मौलिक लोक संस्कृतिको संरक्षण तथा सम्बर्द्धन गर्दै एक पछि अर्को मौलिक साङ्गीतिक खुराक पस्कदै आएका छन् ।

झण्डै सात वर्ष देखि इजरायलमा पसिना बगाउदै आएका युवा गायक तथा सर्जक दूर्गा बि.सि. बाग्लुङ जिल्लामा जन्मिएका हुन् । बाबा दलबहादुर र आमा भद्रकलीका सन्तान दूर्गा बि. सि.  सानै देखि लोकसङ्गीतकै अनुयायी थिए ।

उनले आफ्नो साङ्गीतिक यात्राको दैलो उघार्दै २०६६ सालमा “फोन गरन काली” नामक लोकदोहोरी गीत रेकर्ड गराए । त्यस पछि क्रमबद्ध रुपमा उनले “परदेशी छोरो”, “अङ्गुर पाकेको”, “जालेरुमाल धुम्ला मायालु”, “मृत्यु पछिको सिन्दुर” जस्ता लोकदोहोरी गीतहरु डिजिटल बजारमा सार्वजनिक गरिसकेका छन् । यी सबै गीतहरुलाई नेपाली दर्शक श्रोताहरुले अत्यन्त रुचाइदिएका छन् । लोकदोहोरी गीत बाहेक उनले पोहोरको तिजमा “फुरुरु” नामक तिज गीत पनि सार्वजनिक गरेका थिए ।

सङ्गीतलाई आफ्नो कर्म र भविष्य सम्झने दुर्गालाई परदेशमा रहेर गीतहरु सिर्जना गर्न र बजार ब्यबस्थापन गर्न त्यति सहज भने पक्कै छैन । त्यति मात्र कहाँ होर इजरायलको स्टुडियोमा गीत रेकर्ड गराइ नेपाल पठाएर मिक्सिङ गर्दा कति पटक नमिलेर पुनः रेकर्ड गराउनु पर्ने झन्झट पनि बेहोर्नु परेको छ । सङ्गीत प्रतिको मोह, रुचि, साधना  र लगावकै कारण यी सबै कठिनाई पार गर्दै उनी साङ्गीतिक यात्रामा अघि बढिरहेका छन् ।

दिन प्रतिदिन साङ्गीतिक बजार महङ्गीदो छ । जोखिम उठाएर गरेका लगानी मुनाफामा परिणत हुने सम्भावना ज्यादै न्यून छ । तैपनि उनी प्रवासमा रहेर रगत पसिना बगाएर जम्मा गरेको कमाइ सङ्गीतमा नै लगानी गर्न मन पराउछन्  । त्यसो त उनी सङ्गीतलाई नाफा र नोक्सानको तराजुमा जोख्न भन्दानी मौलिक लोकसंस्कृतिको संरक्षण गर्न पाए आत्मसन्तुष्टि मिल्ने बताउछन् । सङ्गीत उनका लागि नशा जस्तै भैसक्यो । उनले आफैले सिर्जना गरेका धेरै गीतहरु अनुकुल समय र लगानीको पर्खाइमा छन् ।

आफ्नो साङ्गीतिक यात्रालाई निरन्तरता दिने क्रममा भर्खर मात्र उनले “झ्यालैमा” नामक लोकदोहोरी गीत सार्वजनिक गरेका छन् । गीतको भिडियो बजारमा नआउदै यसको अडियो टिकटकमा निकै रुचाइएको थियो । यस गीतमा  लोकदोहोरीकै रानी भनेर चिनिने अनि सबैभन्दा महङ्गो पारिश्रमिक लिने लोकदोहोरी गायिका बिष्णु माझिको आवाज समाबेश गरिएको छ ।  यसर्थ पनि यस गीतले सफलताको शिखर चुम्ने कुरामा कुनै दुई मत छैन ।

 

 

लुकी लुकी नहेर झ्यालैमा . . .
आज हेर्यो भोलि नि मन लाउला
पर्सी माया परौला जालैमा !!!

  • जुक्ति लगाउ भर हुन्न बलैमा
    आँखा लाउदा पाकेको फलैमा !
    लुकी लुकी तिम्रै घर आउनी
    मैले हेर्ने तिम्ले झ्याल लगाउनी !
  • सुन टिपे झै गर्यौनी ल्हासामा
    दिल चोरेर पार्यौनी पासामा !
    फुल्नै छाडे फुल पनि बोटैमा
    फक्रिएसी गुलाब फुल ओठैमा !
  • हुन्न कान्छा जीवनको टुङ्गो नि
    झुक्याइ झुक्याइ नहान ढुङ्गो नि !
    बैसको फल सुक्ला नि पिरैले
    झारी खान्छु नजरको तिरैले !
  • टोलाएछु हेरेर अस्ति म
    तिम्रा नजर मायालु बस्तीमा !
    काटी काटी मिलाइछ्यौ केश पनि
    मेरै लागि बद्लेर भेष पनि !

शब्द / सङ्गीत : बिमल अधिकारी
आवाज : दुर्गा बि. सि. र बिष्णु माझी

यस गीतका सर्जक बिमल अधिकारी बास्तबमा एक चर्चित र ब्यस्त मोडल हुन् । यद्यपि उनको खुबी भनु या बहुप्रतिभा पछिल्लो समयमा उनी आफै गीत सङ्गीत सिर्जनामा पनि लागेका छन् । त्यसो त यो गीतमा करौडौ दर्शक श्रोताले रुचाएकी मोडल अञ्जली अधिकारीको उत्कृष्ट नृत्य देख्न पाइन्छ । साथमा काजी सुन्दासको अभिनयले पनि सुनमा सुगन्ध थपिदिएको छ  ।

लोकदोहोरी गायक तथा सर्जक दुर्गा बि. सि. को नेपाली मौलिक लोकसङ्गीत प्रतिको मोहमा कहिल्यै कमि नआओस् र सदैव उनका यस्तै पृथक र नेपाली दर्शक श्रोताको मन मुटुमा बस्ने सिर्जनाहरु सुन्न र हेर्न पाइयोस् । “झ्यालैमा” को अपार सफलताको शुभकामना छ ।

 

.

5 thoughts on “चर्चित मोडल अन्जली अधिकारी र बिमल रङ्गेहात झ्यालैमा . . .

  1. राम्रो गीत र त्यस्तै राम्रो समालोचना भाइ प्रिय कुमार.

  2. बिष्णु माझीको जस्तो आवाज कसैको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap