NEPALI KALAKAR

“हे बरै” !! पछि “अंँधेरै अंँधेरो” सार्वजनिक

प्रिय कुमार, पोखरा ।

म सधै यहि कुरामा अल्मलिइरहन्छु, यो “माया” भनेको के होला भनेर । थोरै भाग्यमानीहरुले मात्र आफूले मन पराएको र माया गरेको मान्छे सङ्ग जिन्दगी बिताउन पाएका होलान् । बाँकी अरु त मन भरी गुनासो र आँखा भरी आँसु पार्दै चुपचाप बस्न बाध्य छन् । न त माया गरेको मान्छे आफ्नो हुन्छ, न त उस्लाई बिर्सन नै सकिन्छ । खै ! कुन शक्तिले ऊ देखि पर हुन दिदैन, बुझ्नै सक्दिन म । उन्को सिउँदो भरी पराइको सिन्दुर परिसक्दा पनि उन्लाई मन देखि पराइ बनाउन सकिँदैन । कसैको मङ्गलसुत्र र सात फेरोमा बाधिए पनि आफ्नो मन देखि उन्लाई सदा सदाका लागि हटाउन सकिँदैन । भन्न त औपचारिकता पूरा गर्नका लागि “तिम्रो खुसी नै मेरो खुसी हो” भन्ने गरिन्छ तर पनि आफ्नो मुटु अरुलाई सुम्पिएर कुन चाहिँ प्रेमी चैनले बाँचेको होला र । आफ्नो मन र मष्तिस्कमा बसेको मान्छे अरुको अङ्गालोमा निदाउँदा कुन चाहिँ प्रेमी खुशीले हाँसेको होला र ! जवाफ नै नभेटिने यिनै प्रश्न भित्र म घोत्लिरहेको हुन्छु ।

भेट हुन्छ कसरी, माया बस्छ कसरी अनि नजिक भइन्छ कसरी यो त थाहै पाइदैन तर जब ऊ बिनाको एक पल बिताउन पर्छ तब थाहा हुन्छ बिछोडको चोट अनि आफ्नो मनको मान्छे गुमाउनुको पीडा । हुन त एक अर्का सङ्ग टाढिएर रमाउन सक्ने कोहि नहोलान् तर नि समय, परिस्थिती र बाध्यताले नचाहदा नचाहदै एक अर्कालाई चटक्कै बिर्सनु पर्ने हुन्छ । मन भरी यौटाको माया अनि शिरमा सिन्दुर अर्कैको अझ भनु मन यौटालाई सुम्पिएर तन अर्कोलाई जिम्मा लगाउनु पर्ने, यसरी नै कैयौ प्रेमिल जोडीहरु आफ्नो बाचा कसम र बिस्वासलाई मन नलगाइ नलगाइ तोडेर एक अर्का सङ्ग टाढिनु पर्ने हुन्छ । यसरी टाढिएको मान्छे अझ भनौ टाढिन बाध्य हुनु परेको मान्छे अचानक कुनै दिन आफ्नो सामु जम्काभेट हुदा कसरी मन सम्हालिएला, यो कुरा सोचेर पो म अवाक हुन्छु । आँखा वरिपरि बिगतका यादहरु, धड्किरहेको मुटुको कम्पनको बढ्दो गति अनि जुधाउन नसकिएका परेलीहरु रसाउदै जादा कस्तो पलको सिर्जना हुन्छ होला । ओठहरुले उस्का दुख सुख सोध्न त चाहन्छन् होलानी तर हातभरी कसैको नामको मेहेन्दी अनि सिउदो भरी लिपिएको पराइको नामको सिन्दुरको मर्यादा र सिमाले बोली यसै बन्द हुन पुग्छ । यस्तो लाग्छ सायद बल्ल बल्ल निको हुन लागेको घाउमा यो भेटले झन् चिरा पो पारिदियोकी अझ भनु नदेखेर बिर्सन नसक्नु र देखिसके पछि बिर्सन खोज्नुमा भेटै नभैदिएको भए बेश हुन्थ्योकी भन्ने पनि लाग्न सक्छ ।

हो, ठ्याक्कै यस्तै भावमा चुर्लुम्ब डुबेर सर्जक डिप्लब खातीले लेखेको नयाँ गीत सार्वजनिक भएको छ – अंँधेरै अंँधेरो । उनलाई गीतकार मात्र भनेर सम्बोधन गर्दा अन्याय पनि हुन सक्छ । किन कि बहुप्रतिभाका धनी डिप्लबलाई मैले गीतकार भनेर चिनेको हैन, केही समय अघि उनको आवाजमा आएको “हे ! बरै” नामक कारुणिक तथा मौलिक गीतले म लगायत लाखौं दर्शक श्रोता माझ उनको परिचय दिइसकेको छ । हुन पनि हो, “हे ! बरै” भन्ने गीत सुनेर नै म उनको फेसबुक प्रोफाइल सम्म पुगेको थिए । मौलिकताको बलियो चिनारी अनि लोकदोहोरीको इतिहासमा यौटा अमर सिर्जना हो, “हे ! बरै” ।

हे ! बरै सम्झेर म रुनी
बिर्सिएर कहाँ गयौ बैगुनी ।

प्रवासमा रहेर पनि यति गर्वसाथ आफ्नो मौलिक संस्कृतिका विषयमा यसरी कलम चलाउन पाउदा मलाई बेहद खुसी लाग्छ । डिप्लब खातीको कलिलै उमेरमा पनि कति परिपक्व सोच अनि आफ्नो कला संस्कृति प्रतिको कति गहिरो झुकाव । नेपाली मौलिक लोकदोहोरीमा उनी यौटा कालजयी सर्जक र गायक बन्नेछन् भन्नेमा म बिश्वस्त छु । यिनै सर्जक तथा गायक डिप्लबका शब्दहरुमा कोरिएको नया गीत “अंँधेरै अंँधेरो” सुनेर आफ्नो केही बिचारहरु राख्दैछु । नेपाली परम्परा अनुरुप बटुवाहरु हुन् वा दाउरा घाँस गर्ने गाँउलेहरु हुन् या त बिदेशी पर्यटक नै किन नहुन् उनीहरुका लागि बाटोको छेउ छाउमा पाटी-पौवा, धारा, कुवा र पधेरो बनाए धर्म मिल्छ भन्ने कति पबित्र र धार्मिक सोंच छ हाम्रो । त्यही बाटैमा बनाइएको पधेरोलाई थेगो बनाउदै अनि बिछोडको पिडामा उज्यालो जूनलाई पनि मलिनो र अध्यारो भएको महसुस गर्दै लेखिएको मार्मिक दोहोरी गीत “अंँधेरै अंँधेरो” हिजो मात्र डिजिटल बजारमा सार्वजनिक भएको छ ।

बाटैमा पधेंरो
जून मलिनो, धर्ती भो निरिमाया अंँधेरै अंँधेरो ।

अति नै कारुणिक शब्दहरु समायोजन गरी तयार पारिएको यस गीतमा सङ्गीत र स्वर राम तामाङले दिएका छन् भने लोकदोहोरी क्षेत्रकै बिरही स्वर भएकी चर्चित लोकदोहोरी गायिका शान्ती श्री परियारको आवाजले अझ मर्मष्पर्शी बनाएको छ । प्रायः बियोगान्त तथा गम्भीर भावका सिर्जनामा अभिनय गरी पछिल्लो समय चर्चा कमाएकी मोडल जुना गुरुङको अभिनयले अझ सुनमा सुगन्ध थपिदिएको छ । सर्जक तथा गायक डिप्लब खाती र उनको सम्पुर्ण टिमलाई मेरो तर्फ बाट अपार सफलताको शुभकामना । हे बरै !! जस्तै थुप्रै मौलिक गीतहरु सुन्न र हेर्न म अनि म जस्तै थुप्रै लोकपारखीहरु आतुर छौ । जय गीत ! जय सङ्गीत !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap