NEPALI KALAKAR

“हे बरै “! “अधेरै अधेरो” मा दिप्लभकी “भुपु माया” फर्केर आइन् ।

प्रिय कुमार पोखरा ।

जब लगनका महिनाहरु सुरु हुन्छन् प्रकृति पनि ठाटिएर सुरम्य बने झै लाग्दछ । यसै त प्राकृतिक सुन्दरताले भरिपूर्ण मेरो देश त्यसै माथि कला र संस्कृतिमा सबैभन्दा पृथक । बिवाह, बेहुला, बेहुली, जन्ती, ध्वजा पताका अनि साङ्गितिक मनोरञ्जनका लागि पन्चे बाजा र नौमती बाजा । रत्यौलीमा झुम्दै गरेका बेहुलाका परिवार, आफन्त अनि सिङ्गो गाउँ टोल । आहा ! कति रमाइलो माहौल । सनाहीको सुमधुर आवाजमा ढोलकको घुमपाक घुमपाकमा उठी बसी नाच्नुको मज्जा म अहिले परदेशमा बसेर सम्झिरहेको छु । म त सानै देखि लोकसङ्गीतको पारखी त्यस माथि मौलिक बाजाको त कुरै नगरौं । गाउँघरमा कसैको बिहे हुने रे भन्ने हल्ला सुन्ना साथ मेरा कान तिनै बाजाहरुको आवाज सुन्न आतुर हुन्थे । नढाटी भन्नु पर्दा बाजा बिनाको बिहे अधुरो र खल्लो जस्तो लाग्थ्यो मलाई ।

हुन त बाजा भन्ने बित्तिकै रमाइलो । रमाइलो भन्ने बित्तिकै हस्यौली र ठट्यौली गीत । अनि बाजाका विभिन्न तालमा बेहुला र बेहुली पक्षको दोहोरी । बेहुलीको बिदाइमा बाहेक अन्य समयमा बाजालाई बिशेषत साङ्गीतिक मनोरञ्जनकै रुपमा लिइन्छ । बाजाका गीतहरुमा प्रायः श्रृङ्गारिक रस समाबेश हुन्छ । करुण रसमा प्रयोग गरिने बाजाका गीतहरु साह्रै न्युन छन्  । यिनै न्युन तर पृथक र मौलिक गीतहरु मध्य यौटा गीत हो – “भुपु माया “।

भाकी छौ रे कहाँ जाम् र के गरम्
पैल्यै भन्दा मानिनौ बे गरम्
दुख पाइछौ रे
मेरी भुपु मायाले दुख पाइछौ रे
घरवार बिग्रेर माइत आइछौ रे ।

बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर ३ बोहोरा गाउँमा जन्मेका दिप्लभ खातीको सङ्गीत र आवाजमा हिजो मात्र डिजिटल बजारमा पन्चेबाजा गीत – “भुपु माया” सार्वजनिक भएको छ । नवगायक तथा बहुप्रतिभाका धनी दिप्लभका विषयमा दुई शब्द कोर्दै गर्दा उनको साङ्गितिक यात्रालाई एकपटक फर्केर नियाल्न मन लाग्यो । “हे ! बरै” र “अधेरै अधेरो” सङ्गै “भुपु माया” सम्म आइपुग्दा उनमा धेरै निखारता र परिपक्वता देखेको छु । हुन पनि हो कला, साधना, मेहेनत र अनुभवले नै त हो आफ्नो लक्ष्य र गन्तव्य सम्म डोर्याउदै लैजाने । त्यसैले होला दिप्लभ  कलिलै उमेरमा पनि मौलिकतामा चुर्लुम्ब डुबेर सिर्जना गर्दछन् । उनको नेपाली कला संस्कृति प्रतिको मोह र मौलिकता देखेर मलाई गर्व लाग्छ । जुन धारलाई अङ्गाल्दै उनी साङ्गीतिक यात्रामा अगाडि बढिरहेका छन् म दावाका साथ भन्न सक्छु उनी एक दिन नेपाली कला संस्कृति र मौलिक लोकसङ्गीतमा कालजयी सर्जक र गायक बनेर चिनिने छन् । बढ्दो प्रतिश्पर्धा, खर्चिलो र भड्किलो बन्दै गएको साङ्गीतिक क्षेत्रमा उनलाई केही समय आफ्नो छुट्टै पहिचान बनाउन पक्कै कठिन होला तर यो निश्चय छ कि उनी कुनै बाधा अवरोध विना यसरी नै साङ्गीतिक रथ गुडाइरहन पाए भने मौलिकसङ्गीतको “बाहुबली” बन्न पक्कै धेरै समय लाग्ने छैन ।

रातारात भाइरल बनेर चुट्की भरमै हराउने नवप्रतिभाको ओइरो लागेको बेला युट्युब बजारमा उनका गीतले सोचे झै भ्युज नपाउलान् तर जतिले सुनेकाछन् सबैले सकारात्मक प्रतिक्रिया दिएका छन्  । उनको साङ्गीतिक यात्रामा अहिले भ्युजको प्रलोभन भन्दा पनि मौलिकता कसरी जोगाउने भन्ने तर्फ उनी बढी केन्द्रित भएको पाउछु र हामी सबैको अपेक्षा पनि यहि नै हो । खहरे गडगडाएर उर्लिएर आउँछ तर क्षणभरमै हराउछ । नदी कति शालीन र धैर्यवान हुन्छ त्यसैले त समुन्द्रमा पुगेर मिसिन्छ । दिप्लभ पनि त्यही नदी जस्तै हुन् उनलाई थाहा छ कि आफ्नो कला संस्कृति र मौलिकताको बाटो नबिराई अगाडि बढे एक दिन आफ्नो अमर पहिचान बन्नेछ ।

आफ्नी प्रेमिका बाध्यतामा परेर अरु कसैको बनिसके पछि बिबिध कारणले धोका पाएर माइती फर्के पछिको मनै छुने कहानी समेटिएको छ – “भुपु माया” नामक पन्चे बाजा गीतमा । त्यति मात्र नभएर अन्त्यमा भएको पुनर्मिलनले त झन् “पहिलो माया भनेको पहिलो माया नै हो” भन्ने कुरा छर्लङ्ग पारिदिएको छ । पदम नेपाली र ऋषि सापकोटाका मुटु रेटिने शब्दहरुमा डुबुल्की मार्दै दिप्लभ आफैले कारुणिक लय सिर्जना गरेका छन् भने सन्ध्या बिसी, ममता तामाङ र अशोक बस्यालले आवजमा साथ दिएका छन् । बिजय खनाल र अन्जली गुरुङको जीवन्त अभिनयले गीतलाई अझ मार्मिक बनाएको छ । दिप्लभ लगायत यस गीतलाई तयार पार्नका लागि खटिनु हुने सम्पुर्ण टिमलाई बधाइ तथा अपार सफलताको शुभकामना ब्यक्त गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap