NEPALI KALAKAR

COVID-19 ( कोरोना भाइरस) को पछिल्लो अप्डेट भिडियो सहित (हेमन्त कान्छा रसाइली )

सारङ्गी एक पुरानो र मौलिक बाजा हो । परापूर्वकाल देखि नै सारङ्गीकै माध्यम वाट समाचार आदानप्रदान गरिदै आइएको थियो । जसरी अहिले सामाजिक संजाल मार्फत हरेक कुरा सबै माझ तत्कालै पुग्दछ त्यसै गरी त्यति बेला सारङ्गी पनि सन्चारकै एक माध्यम जस्तै बनेको थियो । विशेष गरी गन्धर्वहरु सारङ्गी बोकेर हर घर दैलोमा पुगी बिभिन्न लडाइका लाहुरेका कथा, बेचिएका चेलीका कहानी अनि समाजमा घटेका विभिन्न घटनाहरुलाई गीत मार्फत सुनाउने गर्थे । अझै पनि नेपालका कैयौं गाउँहरु छन् जहाँ सन्चार माध्यमको सुविधा पुगिसकेको छैन । सारङ्गी एक यस्तो सन्देश प्रवाह गर्ने बाजा हो जस्को करुणताले सबैलाई आनन्द मात्र दिदैन सचेतता र साबधानी हुन पनि आग्रह गर्दछ ।

प्रसङ्ग जोड्दैछु चलिरहेको अहिलेको वर्तमान  बिपत्तिको । यति बेला कोरोना नामको भाइरसले बिश्वमा आतंक फैलाइरहेको छ । धेरै ब्यक्तिहरुले आफ्नो ज्यान गुमाइसकेका छन् भने कैयौं उपचाररत छन् । यसको कुनै ठोस उपचार नभए पनि सानो सतर्कताले आफ्नो ज्यान जोगाउन सकिन्छ । यहि सन्देश प्रबाहका निम्ति जुटेका छन् लोकगायक तथा सारङ्गीबादक हेमन्त कान्छा रसाइली ।

सङ्गीत केवल मनोरञ्जनका लागि मात्र हुदैन । सङ्गीतकै माध्यम बाट जनचेतना फैलाउन सकिन्छ । नबुझेकालाई बुझाउन सकिन्छ । सम्भाबित समस्या प्रति साबधान गर्न सकिन्छ । सङ्गीत मार्फत सबैको भलो हुने यो सामाजिक कामका लागि अगाडि बढेका छन् हेमन्त कान्छा रसाइली । केही दिन अघि मात्र उनले बर्तमान परिप्रेक्ष्यमा आधारित सन्देशमुलक गीत “भाइरस” आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

 

 

सारङ्गी रेट्दै सबैलाई सजग रहन अनुरोध गरिएको जनचेतनामूलक गीत यस्तो छ :

भाइरस

विश्व भरी फैलियो भाइरस
के हुनी हो डर मात्र लाइरछ ।
नेपालमा नि आयो रे कोरोना
केही हुदैन पापी मन नरोन ।

सुन्नु होला दाजुभाई सुन्नुस दिदि बैनी
आफू पनि बांँची राखौं बचाउ अरुलाई नि ।
कैल्यै नसुनेको भाइरस कहाँ बाट आयो
थुप्रै देशका मानिसलाई COVID-19 लायो ।

कोरोनाले सखाप पार्न लायो भन्छन् सन्सार
जताजतै रोकिइसक्यो एर्पोटको भन्सार ।
हुंँदा हुँदै हाम्रो सुन्दर नेपालमा नि आयो
COVID -19 देखे पछि झनै डर लायो ।

कोरोनाले सखाप पार्न लायो भन्छन् सन्सार
जताजतै रोकिइसक्यो एर्पोटको भन्सार ।
हुंँदा हुँदै हाम्रो सुन्दर नेपालमा नि आयो
COVID -19 देखे पछि झनै डर लायो ।

कैले हाम्लाई भूकम्पले कैले कोरोनाले
यसै गरी प्रकृतिले सबलाई रुवाउन थाले ।
यौटालाई छोयो भने अर्कोलाई सर्ने
औषधी नै छैन अरे तड्पिएर मर्ने ।

साबुनले हात धोऔ भिडभाडमा नजाऔ
अङ्कमाल नगरौ हात जोडेर संस्कार बढाऔ ।
कस्तो आपत आयो हजुर औषधि नपाइने
बाचौला नि भए भने भगवान दाहिने ।

काम नगरी खानु छैन बस्नु पर्ने घरमा
रोगको भन्दा खानाको पिर कस्तो रैछ कर्म ।
दुखियालाई जता पनि पर्दो रैछ भार
मरिन्छ कि रोग अनि भोकमरी लार ।

खबर आउँछ धेरै देशमा मान्छेहरु मरे
COVID-19 लायो अरे बिचल्लीमा परे ।
संंसारकै ठूला देशमा मान्छे मर्न थाले
बाहिर हिडडुल गर्न पनि बन्द गर्न थाले ।

गाउंँ गाउँ बस्ती बस्ती त्रसित हुदै गयो
मरिन्छ कि बांँचिन्छ खै यौटै आशा रह्यो ।
विश्व भरमै महामारी फैलिदै पो छरे
आफ्नो आफ्नो सुरक्षा आफै गर्नु अरे ।

साबुन पानीले हात मिची मिची धुनु
बाहिर बाट भित्र जादा सेनिटाइजर छुनु ।
नाक मुखमा मास्कको प्रयोग गर्दै जानुस् सबै
जब कोभिड लागे पछि पाइनेछैन दबाइ ।

खानपानमा बिचार गर्नु ताजा ताजा खानु
घरै भित्र बस्नु हजुर कैं कतै नजानु ।
ज्वरो आउने, रुघा लाउने त्यस्तो भयो भने
निको हुन्छ स्वास्थ्य चौकी बेलैमा गयो भने ।

आफू बांँचौ अरुलाई नि बचाउन लागौं
कुनै लक्षण देखा पर्दा जचाउन लागौं ।
हांँच्छ्यु गर्दा रुमालले मुख छोपेर गरौं
यो रोगलाई निर्मुल पार्न सबै अघि सरौ ।

कैं कसैले ब्यापारको धन्दा नबनाइदेउ
सेनिटाइजर अनि मास्क बन्द नबनाइदेउ ।
सकेसम्म फिरिमा देउ नसके किन्न देउ
यो रोगबाट सुरक्षित भएर हिड्न देउ ।

सरकारले बाहिर जान बन्द गरिसके
बाहिर नजाउ बाहिर जांँदा मान्छे मरिसके ।
जे जे हुन्छ राम्रै हुन्छ भन्ने सोंच राखौं
भगवान् भन्दा ठूलो के छ पशुपतिलाई भाकौं ।

जय जय जय जय जय पशुपति
बचाइदेउ यो धर्तीमा जो छन् जहाँ जति ।
जुन देशमा मरे पनि आखिर मान्छे मरे
COVID – 19 कोरोनाको बिचल्लीमा परे ।

मर्ने मरे बाचनेले अप्नाऔ सावधानी
घरै भित्र बसौ सबै कुनै पिर नमानी ।
कहिँ कतै गल्ती भए नगर्नु है गाली
कोरोनाको बारेमा गीत गाए यस पाली ।

यस्ता चेतनामुलक गीतलाई प्राथमिकता दिनु र सबै माझ पुराउनु सचेत नागरिकको कर्तव्य हो । यो प्राणघातक भाइरस बाट आफू बचौं र अरुलाई पनि बचाऔं ।

 

.

3 thoughts on “COVID-19 ( कोरोना भाइरस) को पछिल्लो अप्डेट भिडियो सहित (हेमन्त कान्छा रसाइली )

  1. धेरै राम्रो छ भाई समय सपेक्ष्य गित र भाइ को समलोचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap