NEPALI KALAKAR

चर्चा बटुल्दै मोडल अनुपा अधिकारी

काली नदीका किनारमा भेटिने शालिग्राम यतिकै बहुमुल्य कहाँ भएका हुन् र ? नदीको मुहान देखि बग्दै बग्दै यहाँ सम्म आइपुग्दा कैयौं चट्टानहरु सङ्ग ठक्कर खानु पर्यो होला अनि कैयौंपटक छाँगा छहराबाट कहालिदै झर्नु पर्यो होला । नदीका किनार नै झलमल्ल पारिदिने यी शालिग्रामहरु यतिकै यति सुन्दर र मनमोहक कहाँ भए होलान् र । लछारिदै, घसारिदै, टुक्रदै र निखारिदै यौटा सुन्दर आकार लिनलाई यी शालीग्रामहरुलाई कैयौं महिना लाग्यो होला । जसरी पत्थर कैयौं चोट सहदै मुर्तिमा परिणत हुन्छ तब पो सबैको पुज्य बनेको छ । त्यसैले त म भन्ने गर्छु नि – अप्ठ्यारा परिस्थितिहरु सँग नडराउनुहोस्, दुखको बेला धैर्य रहनुस, आपतको बेला हिम्मत बढाउनुहोस् किन कि हर दुख र संघर्षले मान्छेलाई स्वावलम्बी बन्न सिकाउछ । आत्मनिर्भर रहन सिकाउछ । बिकल्पको खोजी गर्न सिकाउछ । गन्तव्य र गोरेटोको पहिचान गर्न सिकाउछ अनि बिस्तारै पाइलाहरुलाई सफलता तर्फ डोर्याउदै लैजान्छ । मैले आज सम्म सुनेका पढेका अनि आफैले लेखेका र देखेका जीवनीहरुमा यौटा कुरा सबैमा मेल खाएको छ, त्यो हो – हरेक सफल ब्यक्तिको जीवनीमा संघर्षको कहानी ।

खाडीको उखर्माउलो घामको प्रवाह नगरी, दिनभरको कामको थकानको वास्तै नगरी मेरा औंलाहरु मोबाइलका पानाहरुमा सल्बलाउन थालिसकेछन् । अभाव र अप्ठ्यारालाई चुनौती दिदै आफ्नो लक्ष्य प्रति अडिग रहदै साङ्गीतिक क्षेत्रमा बिस्तारै चर्चा बटुल्दै गरेकी मोडल अनुपा अधिकारीका बारेमा गर्वसाथ केही लेख्न उत्साहित छु ।

पोखरामा जन्मिएकी अनुपाको स्थायी घर धादिङ ज्वालामुखी गाउपालिकामा पर्दछ । झन्डै उनी ६ वर्षकी हुदा बाबा आमा बिचको सम्बन्ध सदाका लागि टुङ्गिन पुग्यो जुन कुराले उनको भर्खर फुल्दै गरेको बालापनमा एक्कासी खडेरी सुरु भयो । बाबा आमाको माया ममता बिनाको बाल्यकाल कसरी बित्यो होला सहजै अनुमान गर्न सकिन्छ । समय कति निर्दयी छ, खुलेर हास्दै बालापनको आकाशमा स्वतन्त्र पन्छी बनेर उड्ने बेलामा नियतिले उनको काधमा एक्लो संघर्षको ठूलो जिम्मेवारी थमाइदियो । आफ्ना बाबा आमाको माया ममतामा पुल्पुलिएर रमाउनु पर्ने बेलामा उनले कान्छी आमालाई ब्यहोर्नु पर्यो । कान्छी आमा सँगको बसाइ प्रतिकुल बन्दै गए पछि अन्ततः उनी मामाघरमा हजुरआमा सँग बस्न थालिन् । हजुरआमाकै साथ र सपोर्ट बाट आफ्नो अध्ययनलाई अगाडि बढाउदै गइन् । कक्षा पाँचमा अध्ययन गर्दा देखि नै स्कुल बिदाका दिनहरुमा काम गरी आफ्नो पढाइ खर्च जुटाउन थालिन् । कस्तो दुर्भाग्य – दुई दाजुहरुकी एक्ली बहिनी अनि बाबा आमाकी एक्ली छोरी सुख र खुशीमा रमाउनु पर्ने बेलामा कमाउनु पर्ने भयो अनि आफ्नो लागि आफैले सोच्नु पर्ने भयो । कक्षा दशको पढाइ सङ्ग सङ्गै उनले पोखरामै केही म्युजिक भिडियोमा काम गर्ने मौका पाइन् । जस्को सफलताले उनलाई यो क्षेत्रमा लाग्न उत्साहित बनायो । उनको यो सपनालाई मुर्तरुप दिने काम उनकी दिदी इश्वरी अर्यालले गरिन् । दिदीकै साथ र सपोर्टको कारण उनले अहिले काठमाडौलाई आफ्नो कर्मथलो बनाएकी छिन् ।

अहिलेसम्म अनुपा अधिकारी अभिनित म्युजिक भिडियोहरु भैली गीत “आशिष् “, लोकदोहोरी गीत- “देखेको पाइन मायालु” र “काँचको कचौरा” सार्वजनिक भैसकेका छन् भने भर्खरै मात्र उनको नया म्युजिक भिडियो “डाडै बिसौनीको” डिजिटल बजारमा आइसकेको छ । उनले नृत्य गरेका थुप्रै म्युजिक भिडियोहरु सार्वनिक हुने तयारीमा छन् । क्षणिक भाइरल भएर बिलाउनु भन्दा आफ्नै परिश्रम र मेहेनतले आफुलाइ म्युजिक इन्डस्ट्रीमा टिकाइरहने उनको सपना छ । उनको काम प्रतिको लगनशिलता अनि कडा मेहेनतका कारण बिस्तारै उनको लोकप्रियता बढ्न सुरु भैरहेको छ । आफ्नो म्युजिकल करियरमा विशेषत: इश्वरी अर्याल, डम्बर इटनी, राजन क्षेत्री, अशोक सुवेदी लगायत अन्य धेरै आफन्त र साथीभाइको साथ सपोर्ट रहेको उनी बताउछिन् ।

उनको साहस हिम्मत अनि काम प्रतिको इमान्दारीता र लगन देखेर मलाइ पनि लाग्छ उनको भबिष्य उज्ज्वल छ । हामी सबैको माया साथ र हौसला बिना उनको यो सपना र लक्ष्य अधुरै रहन सक्छ तसर्थ संघर्षमा फुलेको यति सुन्दर फुललाई नेपाली म्युजिक इन्डस्ट्रीजको बगैंचामा अमर बनाउन आउनुहोस् आ आफ्नो ठाउँ बाट यी नेपाली चेलीलाई प्रेरणा र आशिर्वाद दिउँ । उनको म्युजिक करियर सोचे झै चाहे झै बनोस् मेरो ब्यक्तिगत तर्फ बाट अगणीतिय शुभकामना र शुभेच्छा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Share via
Copy link
Powered by Social Snap